पूर्वमन्त्री तथा सभासद श्यामसुन्दर गुप्ताले व्यवसायी पवन संघईको अपहरणमा संलग्न भए पनि पीडित परिवारलाई चाहिँ अपहरितलाई मुक्त गराइदिने मध्यस्थकर्ताको नाटक गरेर फिरौती हात पारेको खुलेको छ ।
'अपहरणमा उनको प्रत्यक्ष संलग्नता थियो,' महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले भने, 'अर्कातिर पीडित परिवारसँग मध्यस्थकर्ता जस्तो भूमिका खेलेका थिए ।' गत पुस ७ गते कमलादी गणेशस्थान अपहरणमा परेका संघई फिरौती बुझाएर २७ गते मुक्त भएका थिए । प्रहरीले गुप्ताको योजनामा अपहरणमा संलग्न गुप्तासहित ५ जनालाई पक्राउ गरेपछि उनको यस्तो बहुरंगी भूमिका खुलेको हो । पक्राउ परेका चारै जनाले ६५ वषर्ीय सभासद गुप्ताको योजनामा अपहरण तथा फिरौती असुलीलाई कार्यान्वयन गरेको बयान दिएका छन् । पत्रकार सम्मेलनमा तिनीहरूले गुप्ताकै अघि यस्तो बताएका थिए ।
अपहरणमा गुप्ता मुख्य योजनाकार रहेको एसएसपी सुवेदीले बताए । 'लामो अनुसन्धान र थुप्रै प्रमाणबाट गुप्ताको संलग्नता पुष्टि भयो,' उनले थपे । अपहरणमा संलग्न आकाश लामा र विकास लामा भनिने जितबहादुर गोले आइतबार हेटौंडामा समातिएपछि उनलाई पक्राउ गरिएको हो । यसपछि बालाजुका किशोर पाण्डे र उनका चालक अमिर आचार्य पक्राउ परेका छन् ।
अपहरणमा संलग्न अरू फरार छन् । पक्राउ परेका लामाद्वयलाई गुप्ताले लेनदेनमा फसेको १ करोड रुपैयाँ उठाउनुपर्ने भन्दै अपहरणमा प्रयोग गरेका थिए । चालक आचार्यसँग चिनजानका आधारमा गुप्तालाई भेटेको तिनले बताएका छन् । 'फोन गरेर भेट्न बोलाइएको थियो,' आकाशले भने, 'डुबेको पैसा उठाउने भए ४/४ लाख दिने भनेपछि लोभमा परियो ।'
प्रहरीका अनुसार अपहरणको योजना गुप्ताको कुसुन्तीस्थित निवासमा बनाइएको थियो । पुस ७ गते बिहान गुप्ताले किशोर पाण्डेलाई गाडीमा राखेर संघईलाई चिनाउने कामका लागि कमलादी गणेशस्थान छाडेका थिए । संघई मन्दिरतिर आएपछि माइक्रोबसमा आएका ४ जनाले जबर्जस्ती गाडीमा हालेर कुपण्डोल पुर्याएका थिए । 'सुरुमा भद्रकाली मन्दिरको छेउमा गाडीभित्रै बसेर सूचना लिइरहेका गुप्ता कुपण्डोलसम्म माइक्रोबसको पछिपछि गएका थिए,' सुवेदीले भने । कुपण्डोलमा गाडी परिवर्तन गरी रातो टाटा सुमोमा राखेर आकाश र विकाससहितको टोलीले संघईलाई धुलिखेल हुँदै सस्र्युंखर्क पुर्याएको प्रहरीको दाबी छ । बाटामा कतै जाँच हुन सक्ने अनुमान गरी मन्त्री गुप्ता धुलिखेलसम्म पुगेका थिए । उनले अन्य सहयोगी श्याम गिरी र अमर लामालाई प्रयोग गरेर वीरगन्ज र रक्सौलबाट 'मधेसी रेड आर्मी' र 'डिफेन्स आर्मी' का नाममा फोन गर्न लगाई फिरौती मागेको प्रहरीले जनाएको छ । सुरुमा २५ करोडबाट फिरौती माग गरे पनि पीडित परिवारले दिन नसक्ने भएपछि संघईलाई बन्धक बनाउनुपर्ने दिन लम्बिएको थियो । लामो समय बितेपछि संघईलाई बन्धक बनाएर बसेका विकास र आकाशले गाउँमा शंका हुन थालेकाले धेरै दिन राख्न नसक्ने बताएपछि अपहरणकारी थोरै फिरौतीमा छाड्न तयार भएका थिए ।
यसपछि संघईलाई अपहरणमुक्त गराउन सक्छु भन्दै परिवारको सम्पर्कमा पुगेका थिए । उनले आप+mै डिल्लीबजारबाट ८५ लाख रुपैयाँ कालो र रातो प्लास्टिकको झोलामा हालेर अपहरणकारीलाई दिन भनी ल्याएको उनका चालक अमिर आचार्यले बताएका छन् । त्यसै रात संघई मुक्त भएका थिए । गुप्ताले अपहरणमा सहयोगी भूमिका निर्वाह गर्ने ७ जनालाई घरमा बोलाएर ४/४ लाख रुपैयाँ दिएको बताएका छन् । बाँकी रहेको २० लाख छोराको बिहेपछि दिने बताएका थिए । उनी बाँकी रकम लिएर छोराको बिहेका लागि भैरहवा पुगेका थिए । त्यहींबाट प्रहरीले उनलाई सोमबार पक्राउ गरेर ल्याएको थियो ।
अनुसन्धान कसरी ?
मन्दिर गएका संघई अपहरणमा परेको खबरपछि प्रहरीले परिवारसँग सम्पर्क गर्न खोजेको थियो । परिवारले अपहरणमा परेको बताए पनि विस्तृत विवरण केही खुुलाएनन् । अपहरणकारीले परिवारका मान्छेलाई फोन गरेर २५ करोड फिरौती माग गरे । प्रहरीले परिवारलाई फोन आएको नम्बरको डिटेल निकाल्यो । फोन भारतको रक्सौलबाट आएको थियो ।
घरी गोरखा त घरी वीरगन्जबाट फोन आउन थाल्यो । अपहरणको निकै दिन बितेपछि अपहरणकारीले फोन सम्पर्क बन्द गरिदिए । त्यही बेला पूर्वमन्त्री गुप्ताले संघई परिवारका सदस्यलाई आफूले अपहरणकारीका तर्फबाट मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सूचना प्रवाह गरे । प्रहरीलाई खबर नगर्नसमेत सूचना प्रवाह गर्ने व्यक्तिले भनेको थियो । वीरगन्ज रामप्रसाद रौनियारसँग संघई परिवारको लेनदेन विवाद हुँदा रौनियारका तर्फबाट विवाद मिलाउन तम्सिएका गुप्ता अचानक सघईलाई अपहरणमुक्त गराउन सक्रिय भएपछि प्रहरी सशंकित भयो । गुप्तासँगको नियमित टेलिफोन सम्पर्कमा रहेका व्यक्तिहरूलाई ल्याएर सोधपुछ गर्दा प्रहरीले अपहरणमै संलग्न व्यक्ति फेला पारेको थियो । एक सातादेखि गुप्तासँग नियमित सम्पर्कमा रहेको एउटा मोबाइल नम्बरलाई निगरानीमा राखेको थियो । त्यही नम्बरबाट अपहरणकारीसम्म पुगेको हो ।
-अपराध महाशाखाका एक अधिकारीसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: २०६८ माघ ४ ०९:४०
No comments:
Post a Comment